महोत्तरी, २४ चैत । महोत्तरीमा विंगरको ठक्करबाट मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा गौशाला नगरपालिका–९ भरतपुरका २५ वर्षीय मोटरसाइकल चालक मिनेषकुमार कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश–२–०४–००१ प १३२७ नम्बरको मोटरसाइकललाई सर्लाहीबाट यात्रु बोकेर काठमाडौँतर्फ जाँदैगरेको प्रदेश–०३–००१ ज ०२९७ नम्बरको विंगरले ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न विंगरसहित सर्लाही हरिवन–५ का २८ वर्षीय चालक नीरज लामालाई बर्दिबास प्रहरीले हिरासतमा लिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।