शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तारलाई नरोक्ने

काठमाडौं, २४ चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।
उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएको हो ।
चितवन–२, बारा–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चितवन, बारा र तनहुँमा मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले मन्त्रीहरू, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गरेको प्रवक्ता पौडेलले बताए ।
प्रवक्ता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेको बेला लागू भएको आचारसंहिताले मन्त्रिपरिषद विस्तारलाई नरोक्ने जानकारी दिए ।
उनले भने, ‘आयोगले शुक्रबारदेखि आचारसंहिता लागू गरेको छ । यो देशभरि होइन, निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू हुन्छ । यी जिल्ला प्रत्यक्ष प्रभावित नहुने गरी जुन पनि गतिविधिहरू गर्न मिल्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएयता सात पटक मन्त्रिपरिषद विस्तार गरे पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । उनले सार्वजनिक कार्यक्रममा एक–दुई दिनमै मन्त्रिपरिषदलाई शतप्रतिशत पूर्णता दिने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


