काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट थप दुईजना मन्त्री सहभागी हुने भएका छन् ।

नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने थप दुईजनाको नाम टुंगो लगाएको हो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये दुईजनाको नाम टुंगो लगाएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार एनपी साउद र मोहनबहादुर बस्नेत मन्त्री बन्न लागेका हुन् ।

साउद गत मंसिरको चुनावमा कञ्चनपुर– २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन भने बस्नेत सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन् ।