जनकपुरधाम, २१ चैत । नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन् ।

आगामी १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन नगरेको भन्दै एमालेबाट मधेस सरकारमा सहभागी भएका मन्त्रीहरूलाई राजीनामा दिनु परेको हो ।

केन्द्रमा एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउन चाहेपनि बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष यादवलाई सहयोग गर्ने आशमा उनी मौन बसेका थिए । तर, त्यहाँ सोमबार नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले समेत उम्मेदवारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएको स्रोतको दाबी छ ।

नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरूलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिएको जानकारी दिए । उनले केन्द्र सरकारको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन मुख्यमन्त्री यादवले आग्रह गरेपछि आफूहरूले सरकारबाट राजीनामा दिएको बताए ।

मुख्यमन्त्री यादवले नेकपा एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृतसमेत आजै गरिसकेका छन् ।

मधेस सरकारमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीको रूपमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा मोहम्मद जैद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।

भौतिक पूर्वाधार विकासमन्त्री बनेका सरोजकुमार यादवले मुख्यमन्त्री यादवसँगै गत पुस २९ गते शपथ लिएका थिए भने अन्य मन्त्रीहरू माघ २० गते सरकारमा सहभागी भएका थिए ।

गत पुस २९ गते सरकारमा सहभागी भएको एमालेले साढे २ महिना पछि सरकार छाडेको हो ।

गत फागुन १५ गते नेकपा एमाले सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ जना मन्त्रीहरू सरकारबाट बाहिरिए पनि मधेस प्रदेशमा भने एमाले सरकारमै सहभागी रहेको थियो ।

केन्द्र सरकारमा पनि गएको पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसहित ७ दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए ।

त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएपनि सहमतिविपरीत प्रधानमन्त्रीले नेपाली काँग्रेससहितको ८ दलीय मोर्चा बनाएर राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको थियो ।

मधेस प्रदेशमा एमालेले सरकार छाडेपछि अब कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने बताइएको छ ।

जनमत पार्टी भने केन्द्र सरकारबाट फिर्ता भइसकेपनि मधेसमा के गर्नेबारे अहिलेसम्म केही निर्णय लिन सकेको छैन । उपनिर्वाचनपश्चात् जनमत पनि मधेस प्रदेश सरकारमा रहने वा नरहनेबारे निर्णय हुने बताइएको छ ।