काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो पार्टीको एकल सरकार बन्ने दाबी गरेका छन् ।

चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । उनले आफूविरुद्ध जति मुद्दा हाले पनि नडराउनेसमेत बताए ।

उनले भने, ‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ, म यस्ता मुद्दाबाट डराउनेवाला छैन । ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन ।’

उनले पुराना भ्रष्टाचारको फाइल खोल्ने भनेर संसदमै उद्घोष गरेकाले आफूलाई सिध्याउन स्रोतसाधन लगाइएको पनि आरोप लगाए ।