बारा–२ मा ३६ जनाको उम्मेदवारी

बारा, २० चैत । आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन अन्तर्गत बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार निर्धारित समयसीमा भित्र ३६ जनाले उम्मेदवारी दिएका हुन् ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दिएका छन् । यी सबै गत मंसिरमा सम्पन्न निर्वाचनमा विभिन्न क्षेत्रमा उम्मेदवार रही पराजित भइसकेका हुन् ।
सत्ता गठबन्धनमा रहेका ठुला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको साझा उम्मेदवारका रुपमा जसपा नेपालका अध्यक्ष यादवले उम्मेदवारी दिएका हुन् । उनी दिउँसो २ बजेतिर उम्मेदवारी दर्ता गराउन कलैया पुगेका थिए । बारा जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेता कार्यकर्ताको हुलसहित उम्मेदवारी दर्ता गराएका यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थक नारायण यादव छन् ।
यस्तै एमालेबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । ‘आगामी दिनमा स्थायित्व र राष्ट्रियताको संरक्षण गर्दै एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्ने छ । यो उपनिर्वाचन भविष्यको रेखा हो,’ उनले भने, ‘यो क्षेत्रबाट एमालेले २०४८ साल, २०५६ सालमा जितेको थियो, अहिले फेरि जित्ने संकेत आएको छ ।’
यस क्षेत्रमा उत्पीडित जाती, क्षेत्र, लिङ्ग एमालेको पक्षमा खडा भएकाले आफूले जित्ने पौडेलको दाबी छ । पौडेलको प्रस्तावकमा बलविर चौधरी र समर्थकमा बन्दना सिंह छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका रमेश खरेलले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सुरक्षामा केन्द्रित भएर काम गर्ने दाबी गरे ।मतदाता नै आफ्नो संगठन भएकाले जित सुनिश्चित भएको उनको भनाइ छ ।
यस्तै जनमत पार्टीबाट उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले विगतदेखि जनताको सेवा गरेकाले आफूले यस पटक जित्ने दाबी गरे । आफूलाई भारी मतका साथ विजयी गराउने कुशवाहाको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


