काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अमेरिकी नागरिक रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा युवराज पौडेल सफलले दिएको रिट सोमबार दर्ता गरिएको हो ।

अमेरिकी नागरिक रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुनबमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग छ ।

आफू अमेरिकी नागरिक हुँदाहुँदै ‘नेपाली नागरिक हुँ भन्नु’ र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदानहुँदै महान्यायाधिवक्ताले लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको पौडेलको भनाइ छ ।

त्यस्तै, राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।

रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।