मिटरब्याजीको आरोपमा जनमतका नेता सुरेन्द्र मधेशी पक्राउ

सप्तरी, २० चैत । सप्तरी प्रहरीले मिटरब्याजीको आरोपमा जनमत पार्टीका एक नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मा रहेको प्रहरीले जनाएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–७ का बस्ने उनलाई सोमबार बिहान राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।शर्मा जनमत पार्टीका पूर्वजिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य हुन् । उनी पार्टीभित्र सुरेन्द्र मधेशीका नामले चिनिन्छन् ।
उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको तथा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको एसपी कार्कीले जानकारी दिए ।
एसपी कार्कीका अनुसार जाहेरीकर्ता सप्तरीको बोदेवरसाइन नगरपालिका–१० का निर्मलकुमार यादवको बुबा शंकर यादवले सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग २०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिँदा शंकरले सत्यनारायणलाई आफ्नो स्वामित्वको शम्भुनाथ नगरपालिका–७ स्थित ८ बिघा ७ कट्ठा ७ धुर जग्गा लिखत पास गरिदिएका थिए ।
सत्यनारायणले आफ्नो नाममा लिखत पास भइ आएको जग्गा छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिएका थिए । ऋणीले पूरै ऋण चुक्ता गर्दा पनि सुरेन्द्रले जग्गा फिर्ता गर्न नमानेपछि प्रहरीमा जाहेरी दिएका थिए ।
ऋणीले ऋण चुक्ता गरे पनि चर्को ब्याज जोड्दै आफ्नो रकम बाँकी नै रहेको दबाबसहित जग्गा फिर्ता गर्न नमानेपछि पीडित पक्ष मिटरब्याज असुलेको भन्दै प्रहरीमा गएका थिए । मिटरब्याजमा मुद्दा चलाउने कुनै कानुन नभएपछि आपराधिक विश्वासघात र ठगीमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
गत शनिबार पीडितसँग ५ बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।प्रतिनिधिसभाको बैठकमा मिटरब्याजीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाजसमेत उठेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


