नगरप्रमुखको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट, १९ चैत । रौतहटका एक नगरप्रमुखको ठाउँमा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह रहेका छन् ।
मेयर कानुको सट्टामा एसईई परीक्षा दिंदै गरेका उनका ज्वाइँ साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी दिए ।
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगरप्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको बताइएको छ ।
परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई बिद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए । पक्राउ परेको विषयमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


