काठमाडौं, १७ चैत । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पनि पदभार ग्रहण गरेका छन् ।

शुक्रबार शपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले आफ्नो मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री भण्डारीले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित एवम् सम्मानित बनाइने बताएका छन् ।मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालय सञ्चालन गरिने उनले बताए ।

अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उनको भनाइ छ । उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए ।

मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्ने सम्बन्धी निर्णय गरेका छन् ।

विसं २०४३ सालमा मरिचमान सिंह प्रधानमन्त्री भएको बेलादेखि मन्त्री हुँदै आएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता भण्डारी १९औं पटक मन्त्री बनेका छन् ।