काठमाडौं, १७ चैत । राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्री र सीता राना मगर फेयरब्रेक इन्भाइटेसनल टी–२० लिग खेल्न हङकङ प्रस्थान गरेका छन् ।

अप्रिल ३ देखि हङकङमा हुने फेयरब्रेक इन्भाइटेसनल टी–२० लिगको दोश्रो संस्करण खेल्न यी दुई खेलाडी शुक्रबार हङकङ प्रस्थान गरेका हुन् ।

दुवै खेलाडीले लगातार दोस्रो पटक फेयरब्रेक खेल्न लागेका छन् । रुबिनाले बार्मी आर्मी र सीताले टोर्नाडोजबाट खेल्नेछन् ।

गत सिजन सीता आबद्ध टोर्नोडोजले उपाधि जितेको थियो । आईसीसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्यका साथ फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्नेछ ।

जसमा विश्वका २८ देशका कुल ८३ खेलाडीहरुले ६ टोलीमा रहेर खेल्नेछन् ।