काठमाडौं, १७ चैत । आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तनहुँ, बारा र चितवनमा दल दर्ता भएका छन् ।

तनहुँ–१, बारा–२ र चितवन–२ मा गरी कूल ४४ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।

आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्न चैत ८ देखि १२ गतेसम्म दर्ताको समय दिएको थियो ।

नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन क्षेत्र नम्बर–२ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको छ । चितवन–२ मा १८ दल भएका छन् ।

तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ । साथै उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।