सरकारले तीन महिनामा धेरै काम गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताएका हुन् ।
उनले भने, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।’
राजस्व संकलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताए । राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने बताए ।
‘सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ ।’
नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको स्पष्ट पार्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


