काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् ।

मन्त्रिपरिषद बिहीबार नै विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद भएपछि आजका लागि सरेको हो ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको जानकारी दिए ।

उनले भने, ‘मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु आज टुंगो लाग्छ । अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् ।’

मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् ।सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ ।

स्रोतका अनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ । त्यस्तै, माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ भने नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने बताइएको छ ।

यता, केही दलहरूले मन्त्री बन्नेको सूची पनि तयार पारिसकेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ ।

कांग्रेसबाट खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू रमेश रिजाल, एनपी सावद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने सम्भावना उच्च छ ।

नेकपा एसबाट प्रकाश ज्वाला र बेदुराम भुसाल मन्त्री बन्दैछन् । लोसपाबाट शरतसिंह भण्डारी र नाउपाबाट रञ्जिता चौधरीको नाम चर्चामा छ ।