काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

मन्त्रिपरिषद बिहीबार नै विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद भएपछि शुक्रबारका लागि सरेको हो ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको जानकारी दिए ।

उनले भने, ‘मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार टुंगो लाग्छ । अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् ।’

मिल्न बाँकी मन्त्रालयहरुको सन्दर्भमा आफैं मिलाउने भनी प्रचण्डले सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दलहरुसँग सामूहिक र एक्लाएक्लै संवादमा छन् ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ ।

स्रोतका अनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ । त्यस्तै, माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ भने नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने बताइएको छ ।