काठमाडौं, १६ चैत । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आगामी १० वैशाख आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार चितवन क्षेत्र नम्बर–२ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर–२ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर–१ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका छन् ।

उनीहरूलाइ यही १८ चैतदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको प्रवक्ता पौड्यालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।