काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन–२ बाट आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठमले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरेका हुन् ।

उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए ।

उनले लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरू जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको बताए ।

उनले भने, ‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रूपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन् ।’