चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगियो

धनगढी, २४ माघ । निलम्बित प्रतिनिधिसभा सांसद अरुण चौधरीको स्वास्थ्यमा समस्या देखिएको छ । आँखामा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।
उनलाई कैलालीको धनगढीस्थित धनगढी नेत्रालयमा चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।
कैलाली–२ बाट निर्वाचित भएका चौधरी ३ भदौ २०६६ मा लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका हुन् । २ भदौ २०६७ मा कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा ९ वैशाख २०७० मा जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीरबहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालतमार्फत कारागार चलान गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


