कामना बैंकका सीईओ बस्नेतसहित चारजना छुटे

काठमाडौं, २० माघ । चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चारजना छुटेका छन् ।
इलाका प्रहरी कार्यालय, दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिप गिरीका अनुसार बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो ।
‘आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी हाजिरी जमानीमा छाडेका छौं’, गिरीले भने, ‘यसमा जोडिएका अझै ११ जना फरार छन् ।’ कमसल धितोमा कर्जा प्रवाह गरेको आशंकामा सुरुमा कामना सेवा विकास बैंकले अनुसन्धान थालेको थियो ।
हाल पक्राउ परेका सीईओ बस्नेत स्वयम्ले आन्तरिक छानबिन सुरु गराएका थिए । समस्या देखिएपछि कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकलाई खबर गरेको थियो । राष्ट्र बैंकले छानबिनपछि कैफियत देखिएको भन्दै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई खबर गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


