काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग आज सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट वृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिए । यसका साथै फ्री भिसा र फ्री टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिकहरू इमानदारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिए । ‘आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागिसमेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिए । यसबाट श्रमिकहरूलाई समेत उत्प्रेरित गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताए । उनले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली श्रमिकहरूको प्रशंसा गर्दै कामदारहरूलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताए । छलफलपछि दुवै पक्षबीच नेपाल र मलेसियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारी पत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ । यसका लागि दुवै पक्षका सम्बन्धित र निकायले आपसी सहकार्य गर्नेछन् ।

भेटका अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भावनाहरूमा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।