जनकपुरधाम, २० माघ । मन्त्रालयको भागबण्डामा दलहरुबिच सहमति हुन नसक्दा मधेस प्रदेशको मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मध्यान्ह् ४ बजे मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि साँझको ५ बजेसम्म पनि कुनै सुरसार देखिएको छैन् ।

स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरु भित्र आन्तरिक रुपमै मन्त्रालय भागबण्डाको विषयमा विवाद रहेको छ ।

मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको सम्पूर्ण तयारी पूरा गरिएपनि शपथ ग्रहणमा ढिलाई देखिएको छ ।अहिलेसम्म कार्यक्रमस्थलमा सरकारको तर्फबाट कोहीपनि उपस्थित भएको देखिएका छैनन् ।

लामो रस्साकस्सी पश्चात मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डललाइ पूर्णता दिने तयारी गरेका हुन् ।

उनले नेकपा एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको सूची समेत तयारी पारिसकेका छ्न ।

मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरी ४ बजे नै शपथ ग्रहण गराइने जानकारी प्रदेश प्रमुखको कार्यालयलाई दिएपछि प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको तयारी पुरा गरेको छ । यद्यपि साँझको सवा ५ बज्न लाग्दासमेत मुख्यमन्त्री र मन्त्रीहरू कार्यक्रमस्थलमा नपुग्दा ढिलाई भएको छ ।