जनकपुरधाम, १९ माघ । जनकपुरधाममा जारी विद्यालय स्तरिय यू–१६ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा गोगल प्रसाद नमूना मावि र सिद्धार्थ शिशु सदनले जित हासिल गरेको छ ।

पहिलो खेलमा सिद्धार्थ शिशु सदनले किड्डी कन्भेन्ट सकेण्ड्री इङ्गलिश बोर्डिङ्ग स्कुललाई १०३ रनको विशाल अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८९ रनको स्कोर खडा गरेको थियो । सिद्धार्थका लागि मुकेश यादवले सर्वाधिक ४९ रनको योगदान गरे भने राजेशले ३९ रन बनाए ।

किड्डी कन्भेन्टको बलिङ्गमा जमालले ३, रवि शर्मा र शम्भु साहले २/२ विकेट लिए । जवाफमा १९० रनको लक्ष्य पछ्याएको कन्भेन्ट १२ ओभरमा ८६ रनमै सिमित हुन पुग्यो । किड्डी कन्भेन्टका लागि रविले १८ र छोटु राइनले १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यान टिकेर ब्याटिङ्ग गर्न सकेनन् ।

किड्डी कन्भेन्टलाई सस्तैमा समेट्न सिद्धार्थको तर्फबाट मुकेश यादव र रोशन यादवले ३/३ विकेट लिए ।

बिहीबारकै दोस्रो खेलमा गोगल प्रसाद नमूना माविले सर्वोदय सेकेण्ड्री इङ्गलिश बोर्डिङ्ग स्कुलाई १२७ रनको विशाल अन्तरले पराजित गर्यो । गोगलले दिएको २४४ रनको विशाल लक्ष्यको जवाफमा सर्वोदय ११७ रनमै सिमित भयो ।

गोगलको ब्याटिङ्गमा सुरज साहले ६३, किसन महरा ४३ र मन्जेश झा ४२ रनको योगदान गरे । सर्वोदयको बलिङ्गमा रोहित पुर्वे, सुदिप मण्डल र राजु मण्डलले २/२ विकेट लिए ।

सर्वोदयका लागि अकाश, रोहित र अमृतले १८/१८ रनको योगदान गरेका थिए ।