संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याएका छन् ।
जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उनले सांसदलाई अनुरोध गरेका हुन् ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।’
उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे ।
उनले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


