मुस्लिमलाई पुनः मधेशी आयोगमै राख्नुपर्ने माग

काठमाडौं, १९ माघ । मुस्लिम आयोगलाई पुनः मधेशी आयोगमै राख्नुपर्ने माग उठेको छ । मुस्लिमलाई पुनः मधेशीकै रूपमा सिफारिस गराइदिन मुस्लिम आयोगले अनुरोधसहित पत्र लेखेको हो ।
मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरूले मधेशीको सिफारिस पाउन अवरोध देखिएको उसले बताएको छ ।
मधेशी आयोगद्वारा प्रकाशित ’मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारू र मुस्लिमलाई पनि मधेशीको रूपमा सूचीकृत गरिएको थियो ।
तर प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएपछि मुस्लिम र थारू आयोगका पदाधिकारीहरूसहित सो समुदायका विभिन्न संघ संगठनहरूले मधेशी आयोगको उक्त निर्णयप्रति व्यापक विरोध गरेका थिए । पछि आयोगले मंसिर २० गते बैठक बसी थारू र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।
मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोक सेवालगायत विभिन्न निकायहरूमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको छ ।
मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तका अनुसार मधेशी आयोगले शुरूमा सबैलाई समेटेर नै आयोग बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीहरूबाट व्यापक विरोध भएको र पछि आयोग बाध्य भएर थारू र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


