जनकपुरधाम, १८ माघ । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाइएको देवशिला मङ्गलबार राति गोरखपुर पुर्याइएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित माघ १६ गते देवशिला अयोध्यातर्फ पठाइएकोमा गएराति गोरखपुर पुर्याइएको हो ।

जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार देवशिला आज अयोध्या पुर्याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ ।

हिन्दु धर्मावलम्बीले भगवान विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् ।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित काली गण्डकी नदी किनारबाट निकालिएका दुई विशाल देवशिला माघ १५ गते जनकपुरधाम पुर्याइउको थियो ।