एजेन्सी, १७ माघ । गान्धीनगरको एक अदालतले मंगलबार आसारामलाई बलात्कारको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ ।

सन् २०१३ को उक्त मामिलामा गान्धीनगर अदालतले सोमबार आसारामलाई आफ्नी पूर्वमहिला शिष्यलाई बलात्कार गरेकोमा दोषी ठहर गरेको हो ।

गान्धीनगरको सत्र अदालतका न्यायाधीश डीके सोनीले सजायबारेको बहसपछि मंगलबार यो फैसला सुनाएका हुन् ।

आसारामविरुद्ध सन् २००१ देखि २००६ सम्म मोटेरा आश्रममा बसेकी सुरतकी एक महिला शिष्यलाई धेरै पटक बलात्कार गरेको मुद्दा लागेको थियो । उनीविरुद्ध पीडित महिलाले सन् २०१३ मा मुद्दा दायर गरेकी थिइन् ।

८१ वर्षीय आसाराम अहिले जोधपुर जेलमा छन् जहाँ उनी अर्को बलात्कारको मुद्दामा आजीवन काराबास भोगिरहेका छन् । यो घटना पनि सन् २०१३ कै हो । त्यसमा पनि उनी राजस्थानस्थित आफ्नो आश्रममा नाबालिग बालिकालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएका थिए ।

–बीबीसी हिन्दी