एजेन्सी, १५ माघ । भारतमा ओडिशा राज्यका स्वास्थ्य मन्त्री नव किशोर दासमाथि आइतवार मध्यान्ह गोली प्रहार गरिएको छ । प्रदेशको ब्रजराजनगरमा एक एएसआईले उनीमाथि गोली हानेका हुन् ।

मन्त्री दासलाई ४ देखि ५ वटा गोली लागेको छ । उनको अवस्था चिन्ताजनक छ ।

पुलिस अधिकारीका अनुसार नब दास कार्यक्रममा सहभागी हुन ब्रजराजनगर गएका थिए । कारबाट उत्रिनेबित्तिकै उनलाई एक एसआई गोपालदासले नब दासमाथि गोली बर्साए ।

नव किशोर दासले ओडिशाको झरसागुडा सिटमा सन् २००४ मा पहिलो पटक कांग्रेसबाट चुनाव लडेका थिए । त्यसबेला उनी हारेका थिए ।

त्यसपछि उनी सन् २००९ मा कांग्रेसबाटै उठे । २००९ मा जितेका उनले सन् २०१४ मा पनि त्यही क्षेत्रबाट विधानसभाको टिकट काटे ।

सन् २०१९ मा लगातार तेस्रो पटक चुनाव जितेर उनी विधायक बनेका थिए । नव किशोर दासलाई उनको क्षेत्रमा प्रभावशाली नेता मानिन्छ ।

नव किशोर दास सन् २०१५ मा विधानसभा सत्रका क्रममा पोर्न भिडिओ हेर्दै गर्दा समातिएका थिए । त्यसपछि तत्कालीन विधानसभा अध्यक्ष निरञ्जन पुजारीले उनलाई एक साताका लागि निलम्बित गरिदिएका थिए ।

यस मामिलामा नव किशोरले भने आफूले जीवनमा कहिल्यै पनि पोर्न भिडिओ नहेरेको जिकिर गरेका थिए । तर आफूले इन्टरनेट चलाउने क्रममा उक्त भिडिओ खुल्न पुगेको उनको तर्क थियो ।