काठमाडौं, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर रविले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

यससँगै उनले दोसरो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि उनले नेपाली नागरिकता लिएका हुन् । उनका सहयोगी प्रकाश सिग्देलले रविको नाममा नागरिकता जारी भइसकेको बताए ।

२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए । तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन् ।

त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए ।

चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको छ ।

यस्तोमा उनको यो सबै प्रक्रियालाई खारेज गर्दै सर्वोच्चले उनलाई नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाउन पाउने गरी आदेश दिएको थियो ।