काठमाडौं, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृह मन्त्रालयको पनि जिम्मेवारी दिएकी छन् ।

शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएकाले गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछानेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका थिए । लामिछानेले राजीनामा दिएलगत्तै प्रधानमन्त्री दाहालले गृहमन्त्रालयको जिम्मेवारी आफूले लिएका थिए ।