रवि लामिछानेले पुनः नागरिकता लिएर उप–निर्वाचन लड्न पाउने

काठमाडौं, १३ माघ । रवि लामिछानेले पुनः नागरिकता लिएर उप–निर्वाचन लड्न पाउने भएका छन् ।
पुनःजारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधिसभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकैपटक गएको हो ।
सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकता लिएर उपनिर्वाचन लड्न पाउने गृह मन्त्रालयका एक सह–सचिवले बताए ।
उनका अनुसार प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपि जारी गरेर उनले नागरिकता लिन पाउनेछन् । त्यसै आधारमा उपनिर्वाचनमा सहभागी हुन पाउनेछन् ।
निर्वाचन आयोगका एक निर्वाचन आयुक्तका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार अब निर्वाचन आयोगले उप–निर्वाचन गर्नुपर्नेछ । उप–निर्वाचनको मिति घोषणा भएपछि लामिछानेले नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि त्यसै आधारमा उम्मेदवारी दिएर उप–निर्वाचन लड्न उनलाई कुनै बाधा पर्नेछैन ।
लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने बित्तिकै उनले पुन नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ । त्यसपछि उनले नागरिकताको प्रतिलिपि प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


