मन्त्रालय जिम्मेवारीमा मुख्यमन्त्रीले विश्वासघात गरे : मन्त्री कुशवाहा

जनकपुरधाम, १३ माघ । मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वशन्त कुशवाहाले आफूले पाउने मन्त्रालयको टुंगो लागेपनि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासघात गरेको प्रतिक्रिया दिएका छन् ।
मन्त्री कुशवाहाले मुख्यमन्त्री यादवले दलहरुको संयुक्त छलफलबाट तीनैजना विनाविभागीय मन्त्रीलाई मन्त्रालय बाँडफाँड गरेर त्यसको तयारीमा रहेको अवस्थामा मन्त्रालयको विषयमा औपचारिक पत्रमा आफूले अलग मन्त्रालयको जिम्मेवारी पाउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।
उनले भने, ‘छलफलबाट मैले सामाजिक विकास मन्त्रालय पाउने सहमति भइसकेको थियो । सोहि अनुरुप त्यसको अध्ययन र भावी रणनीतिका लागि तयारी पनि गरिसकेको थिएँ । तर, दुई सातापछि मलाई अलग्गै मन्त्रालय दिइएको छ ।’
हुनत जनमतले कृषि मन्त्रालय पनि मागेकोले आफूले यो मन्त्रालय पनि सहर्ष स्विकार गरेको उनले बताए । आफूहरुको सामाजिक विकास मन्त्रालयप्रतिको दाबी अहिले पनि जारी नै रहेको र नदिएको खण्डमा सरकारमा रहने या नरहने कुरा पार्टीले छलफल गर्ने उनले बताए ।
मन्त्री कुशवाहाले किसानहरुको हितका लागि आफ्नो पार्टीले विगतमा आन्दोलन पनि गरेको र अहिले पनि जारी रहेको अवस्थामा आफ्नो पहिलो प्राथमिकता ती बुँदाहरुलाई कार्यान्वयन गर्नु रहेको बताए । किसान आन्दोलनमा उठान गरिएका मुद्दाहरुलाई अक्षरशः पालना गर्न र गराउनका लागि संघीय मन्त्रालयसँग पनि कुराकानी गरी कार्यान्वयन गराएर छाड्ने उनले प्रतिवद्धता जनाए ।
उनले भने, ‘म काम गर्ने व्यक्ति हुँ । हुनसक्छ कार्यालय समयमा मैले कसैको फोन पनि उठाउन सक्दिन । तर, जनतालाई जनमत पार्टीले गरेको प्रतिवद्धता पुरा गराउन हरदम तयार रहने छु ।’
मन्त्री कुशवाहाले वीरगञ्जमा व्यापक मल रहेको कुरा आफूलाई थाहा भएको र सो मल प्रदेशभरिका किसानलाई उपलब्ध गराउनका लागि पहल सुरु गरेकोसमेत बताए ।
पदभार ग्रहण गर्दै मन्त्री कुशवाहाले किसानलाई मल उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
मुख्यमन्त्री सरोजकुमार यादवसँगै पुस २९ गते विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका मन्त्री कुशवाहाले यसअघि समाजिक विकास मन्त्रालय पाउने पक्कापक्की भएकोले सोहि अनुसार उनी क्वाटर पनि प्रयोग गर्न थालेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


