गृहमन्त्री लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकियो

काठमाडौं, १३ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ ।
गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले शुक्रबार बाँकी बहस गरेपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।
रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।
यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ । यससँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यसअघि बुधबार पनि पक्ष र विपक्षमा बहस भएको थियो भने सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न लगाएको थियो ।
अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतमा पेश भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


