जनकपुरधाम, १२ माघ । केन्द्र सरकार जस्तै मधेस प्रदेश सरकारमा पनि रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टीले  सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

प्रदेश सरकारमा जनमत पार्टीको मन्त्रालय परिवर्तन भएपछि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने चेतावनी दिएका हुन् ।

यसअघि केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भए पनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभार सम्हाले ।

मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई सामाजिक विकास मन्त्रालय दिने सहमति गरेका थिए । तर, बिहीबार मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख कार्यालयले जनमतलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएको छ ।

संसदीय दलका नेता यादवले शुक्रबार बिहान दलको बैठक बसेर सरकारलाई दिएको समर्थन यथावत् राख्ने वा फिर्ता लिने भन्नेबारे निर्णय गर्ने बताएका छन् ।

शुक्रबार बिहान ८ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष डा. सीके राउत पनि सहभागी हुने बताइएको छ ।