काठमाडौं, १२ माघ । आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन भएको छ ।

बिहीबार गृह मन्त्रायका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।

अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको हो ।

आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्नेगरी समितिलाई कार्यादेश दिएको मन्त्रालयले जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आचार्यको निधन पछि कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर बुधबार अपरान्ह उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरूलाई भेटेका थिए ।

भेटका क्रममा परिवारका समस्यामा सरकारसँगै गरेको र सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्ने प्रयत्न गर्ने बताएका थिए ।