सर्लाही, १२ माघ । सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वसन्त न्यौपानेमाथि सोही पालिकाका केही वडाध्यक्षहरुले हातपात गरेका छन् ।

कार्यालय सहयोगीको भर्नाको बिषयलाई लिएर हरिपुर्वा नगरपालिकामा विगत केही दिनदेखि जनप्रतिनिधीहरुबिच तनाव रहेको बेला बिहीबार प्रमुख प्रशासकिय अधिकृत न्यौपानेमाथि केही वडाध्यक्षहरुले मेयरकै कार्यकक्षमा हातपात गरेका हुन् ।

नगरपालिका मातहतका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेमाथि भएको हातपात तथा दुर्व्यवहार निन्दनीय रहेकोले घोर भर्त्सना गदैै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत न्यौपाने नगरप्रमुख बिनोद कुमार साहको कार्यकक्षमा उनीसँग बसेर कुराकानी गरिरहेको बेला लोसपाबाट निर्वाचित वडा नम्बर–२ का वडाध्यक्ष दिनेश राय, जसपाबाट निर्वाचित वडा नम्बर–३ का वडाध्यक्ष प्रमोद राय, नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर–४ का वडाध्यक्ष नोखेलाल राय, जसपाबाट निर्वाचित वडा नम्बर–७ का वडाध्यक्ष उमेश राय तथा वडा नम्बर–६ का वडाध्यक्ष रामस्वार्थ रायलगायतकाले कार्यालय सहयोगी भर्नाको बिषयलाई लिएर बिबाद गर्दै प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात गर्दै गाली बेइज्जती गरेको भन्दै कर्मचारीहरुले नगरप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका छन् ।

दोषीउपर कारबाही नभएसम्म नगरपालिका भित्रका सम्पुर्ण कार्यालयमा आवश्यक सेवाबाहेक सबै कामकाज ठप्प रहने ज्ञापनपत्रमा उल्लेख छ ।

यता, वडाध्यक्ष रामस्वार्थ रायका अनुसार आफूहरुले कार्यालय सहयोगी भर्ना तथा प्रमुख प्रशासकिय अधिकृत बिदामा बसेको दिन पनि हाजरी रजिष्टरमा हाजिरी गरेको बिषयमा सोधपुछ गर्दा आफूहरुलाई हप्काएपछि सामान्य विवाद मात्र भएको बताए । उनले आफूहरुले प्रमुख प्रशासकिय अधिकृत न्यौपानेमाथि हातपात र गालीगलौज नगरेको दाबी गरेका छन् ।