महोत्तरी, १२ माघ । महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्लाको बर्दिबास–३ पाटुमोडमा बिहीबार प्रदेश–२–०२–००१ त २२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किएका २९ जना यात्रु सवार सो ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर–५ का हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यसैगरी औरहीकै कुमारी मण्डललाई जनकपुरधामस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले वताएको छ ।

अन्य घाइतेमा जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रादेवी ठाकुर र चन्द्रादेवी मण्डल रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार जनकपुरधामस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, शुभस्वस्तिक र बर्दिबास अस्पतालमा भइरहेको छ ।