पत्रकारको चरित्रहत्याको प्रयास गर्ने स्वास्थ्यकर्मीले मागे माफी

जनकपुरधाम, ११ माघ । समाचार लेखेको निहुँमा पत्रकारको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले सार्वजनिक रुपमा माफी मागेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत्त सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक रुपमा माफी मागेका हुन् ।
पत्रकार शैलेन्द्र महतो क्रान्तिले आफ्नो चरित्रहत्या हुने गरी स्वास्थ्यकर्मी साहले सामाजिक सञ्जालमा तस्वीरसहित जथाभावी आरोपसहितको पोष्ट राखेको भन्दै मंगलबार प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले स्वास्थ्यकर्मी साहलाई बुधबार झिकाएका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाका पदाधिकारी, सञ्चारकर्मी, प्रहरी, व्यवसायी लगायतको उपस्थितीमा स्वास्थ्यकर्मी साहले आवेशमा आएर पत्रकार महतोको विषयमा जथाभावी लेख्दै चरित्रहत्याको प्रयास गरेकोप्रति आफ्नो गम्भीर गल्ती भएको स्वीकार गरेका हुन् । उनले पत्रकार महतोको विषयमा लेखेको फेसबुक पोष्ट डिलिट गर्दै आईन्दा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वास्थ्यकर्मी साह विगत करिब ११ महिनादेखि तोकेको ठाउँमा नगई बटेश्वर गाउँपालिका कार्यालयमा बसेर गफ चुट्दै तलब खाँदै आएका थिए ।
अनलाइनखबरमा ‘अटेरी अहेव : खटाएको ठाउँमा जाँदैनन्, गाउँपालिकामा हाजिर गर्दै दिन काट्छन’ भन्ने शीर्षकको सामाचार प्रकाशित भएको थियो । सोही समाचारको निहुँमा स्वास्थ्यकर्मी साहले पत्रकार महतोको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी लेखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


