जनकपुरधाम, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनसहभागितामूलक योजनाहरु समावेश गर्नुपर्ने माग गर्दै नगराईन नगरपालिकाका नगरप्रमुख विनय यादवलाई ज्ञापन पत्र बुझाएको छ ।

लोसपा नेता राजु चौधरीले बुझाएको ज्ञापनपत्रमा नगराईन नगरपालिकाको श्वेत पत्र, सम्पुर्ण बैठकहरुको प्रत्यक्ष प्रसारण, आर्थिक वर्ष २०७८/०७९ को प्राकृतिक आपदा विपदा कोषको गठन, नगरपालिकाको नामाकरण, दलित, असहाय, पीडित एवम् गरिब परिवारको कन्यादान गर्न ५० हजार रुपैयाँ बिवाह खर्च अनुदान, कामकाजी महिलाहरुलाई मासिक धर्ममा २ दिनको विदा स्वीकृत गर्ने तथा महिला एवम् छात्राहरुलाई हरेक महिना निशुल्क सेनिटरी प्याड बितरण गनुपर्ने माग गरिएको हो ।

त्यस्तै, नवजात शिशुको पालनपोषण गर्न बिना कुनै भेदनाव हरेक महिलालाई एकमुष्ट ५ हजार रुपैयाँ प्रदान गर्न, नारी विरुद्ध हुने हिंसा, उत्पीडण, अत्याचार रोकथाम एवम् सुरक्षा प्रदान गर्न २४ सौं घण्टा तत्पर टोली गठन गरी इमरजेन्सी हेल्पलाइन नम्बर उपलब्ध गराउन माग गरिएको छ ।

महिलाहरुलाई अत्मनिर्भर बनाउन प्रशिक्षण तालिम, जटहीमा निर्माणाधिन सहिद दुर्गानन्द झा स्मृति अस्पताललाई आधुनिक सेवा सुविधायूक्त अस्पताल बनाउन, यथाशिघ्र बर्थ सेन्टरको स्थापना गर्न, निशुल्क स्वास्थ उपचार एवम् औषधि प्रदान गर्न, स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत गरीब, असहाय, दलित, अशक्त, मुस्लिम, पिछड़ा, अति पिछडा, एकल महिला एवम् ज्येष्ठ नागरिकहरुलाई २ हजार ५०० थैली भुक्तान नगरपालिकाद्वारा प्रदान गर्नसमेत ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

प्रत्येक सरकारी स्कुलमा गरीब, असहाय, दलित, अशक्त, मुस्लिम, पिछडा, अति पिछडा एवम् जेहेन्दार बालबालिकाहरुको निम्न प्राथमिकदेखि १२ कक्षासम्म निशुल्क शिक्षा तथा सम्पुर्ण शैक्षिक सामग्री निशुल्क प्रदान गर्नुपर्नेलगायतका २६ सुत्रीय माग गरिएको छ ।
ज्ञापनपत्रमार्फत जनप्रतिनिधिहरुलाई यथाशिघ्र विशेष बैठक बसी जनता समक्ष गरेको बाचा र जनताको हकमा हुने जनसहभागितामूलक तथा जनकल्याणकारी योजनाहरुको बृहत छलफल र स्पष्ट निति निर्माण गर्न आह्वान गरिएको छ ।

पटक–पटक बुझाइएको ज्ञापनपत्र र सुझाव समेतलाई वेवास्ता गरि नगरपालिकालाई अनिर्णयमा राखेर राजनैतिक बन्धक बनाउने प्रयास भए चरणबद्ध आन्दोलनमा उत्रने लोसपा नेपाल नगराईन नगरपालिका नगर कमिटीका अध्यक्ष नवल किशोर झाले चेतावनी दिएका छन् ।