मधेसका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो

जनकपुरधाम, १० माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय विभाजन गर्दै जिम्मेवारी तोकेका छन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका बसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको मन्त्री कुशवाहाले जानकारी दिएका छन् ।
मुख्यमन्त्री यादवले बाँकी ७ वटा मन्त्रालय भने हाल आफैंसँग राखेको बताइएको छ ।
पुस २७ गते तीनजना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री यादवले बिनाविभागीय मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।
पुस २९ गते मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका थिए ।
मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका थिए ।
यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।
यता, मधेस प्रदेश सरकारको सत्ता साझेदार दलहरुको छलफलबाट एक÷दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । सत्ता साझेदार दलहरुबिच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि मधेस प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


