जनकपुरधाम, १० माघ । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा परिचित धनुषाधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार धनुषाधाममा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले रामले सितासँग विवाह गर्नुअघि तोडेको धनुषको एक अंश धनुषाधाममा पनि भेटेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीको रुपमा व्यवस्थित र विकसित गर्न आफूले पहलकदमी लिने आश्वासन समेत दिएका हुन् ।

धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेलाको प्रचारप्रसार गरी धार्मिक पर्यटक तान्नका लागि सबैले आ–आफ्नो स्तरबाट लाग्नुपर्ने उनले बताए । धनुषाधाम चुरे क्षेत्रसँग जोडिएर रहेकोले यस भूमिलाई रोजगारको मुल क्षेत्रको रुपमा विकास गर्नुपर्नेसमेत उनले बताए ।

नवनिर्वाचित सभामुख मण्डललाई धनुषाधाम नगरपालिकाका स्थानीयवासी, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।