जनकपुरधाम, १० माघ । नेपाली समाजमा मधेसलाई अस्तित्वमा र पहिचानमा ल्याउन पहल गर्ने समतावादी नेता, सदभावना पार्टीका संस्थापक एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको २१औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले मंगलबार जनकपुरधाममा सिंहको २१औं पुण्यतिथि मनाएको हो ।

सप्तरीको राजपुताना जमिनदार परिवारमा जन्मेका नेता सिंह सबैखाले उत्पीडन र विभेदका साथै मधेशीको अधिकारको लडाईको शुरुवात गर्दै मधेशी, महिला, जनजाती, मुस्लिम, दलित उपर हुने विभेदविरुद्ध मेची देखी महाकालीसम्म एकता यात्राको शुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गरेका थिए ।

गजेन्द्रबाबुले शुरु गरेको मधेशीहरुको अधिकार प्राप्तिको लडाइ धेरै हदसम्म सार्थक भएको छ् । फलस्वरूप आज आंशिक रुपमै भए पनि मधेस प्रदेश नामाकारण भएको छ । उनको प्रेरणा र विभिन्न समयमा भएका विभेदविरुद्धको संघर्ष, आन्दोलन र महान वीर सहिदहरुको सहादतले मधेशी जनसमुदायको चाहना अनुसार नै मधेशको मुद्दा स्थापित भएको सिंह अध्ययन केन्द्रले जनाएको छ ।

आफ्नो राजनीतिक जिवनक्रममा ५० एकडभन्दा बढी जग्गा लुटाएका नेता सिंह २०४७, २०५१ र २०५६ सालको चुनावमा विजयी भइ प्रतिनिधि सभामा सांसद रहेका थिए । वि.सं. २०४७ सालको चुनावमा ६ सिट ल्याउदै नेपाल सदभावना पार्टी ६ टौं स्थान ओगटदै राष्ट्रिय पार्टी बनेको थियो । पटक पटक गरि मन्त्री बनेका सिंह स्पष्ट वक्ता, निडर र कडा स्वभाव एवं स्वच्छ छवीका बेदाग नेता थिए । उनको नाममा अनेकौं चोक, अस्पताल, प्रतिष्ठान लगायत बनेको छ ।

नेपालमा रहेका दुई तिहाई आदिवासी जनजाति, मधेशी समुदायको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकार, पहिचान र स्वाभिमानको लागि आजिवन संघर्ष गरेका पहिचानवादी नेता स्व.गजेन्द्र नारायण सिंहको पुण्यतिथिको अवसरमा उनीप्रती श्रद्धाञ्जली अर्पण गरिएको छ ।

वि.सं.१९८५ चैत रामनवमीका दिन सप्तरीको कोइलाडीमा जन्मेका राजनेता सिंहको वि.सं. २०५८ माघ १० गते काठमाडौंमा निधन भएको थियोे ।