धनगढी, १० माघ । मंगलबार बाजुरामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर–२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कारर्यालय बाजुराले जनाएको छ ।

मंगलबार दिउँसो भूकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी भेडा चराउन गएका गौमुल गाउँपालिका वडा नम्बर–१ का एकजना घाइते भएका छन । जंगलमा भेडा चराउन गएका बेला माथिबाट भिर फुटेर पहिरो जाँदा ४० देखी ५० भेडा मरेका र गाठालो गएका रामदल बोहरा घाइते भएको स्थानीय सुवास रोकायाले बताए ।

भूकम्पबाट अहिलेसम्मका तथ्यांक अनुसार बडिमालिका नगरपालिका–७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपालिका–८ का हर्क गुरुङ र बिरजिते चदाराका घरहरु भत्किएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो ।