काठमाडौं, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागू गरे मात्रै सरकारी विद्यालयमा सुधार आउने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागू गर्नुपर्ने बताएका हुन् । शाहीले भने, ‘आजैदेखि नीति लागू गरौँ, तब मात्र नेपालको सरकारी विद्यालय सुध्रिन्छन् ।’

कर्णाली प्रदेशको विकासका लागि सरकारले बजेटमा विभेद गरेको गुनासो गर्दै शाहीले समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानता साथ अगाडि बढाउने हिम्मत राख्न सक्नुपर्ने बताए ।

कर्णाली यो देशभित्र पर्छ कि पर्दैन ? भनेर प्रश्न गर्दै उनले हुम्लाका जनता मोटर गाडी पुग्ने रहरमा बसेको बताए ।