एजेन्सी, १० माघ । कुवेतका प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले पदबाट राजीनामा दिएका छन् । विपक्षी दलसँग संसदमा विवाद भएपछि उनले राजीनामा गरेका हुन् ।

संसदमा विवाद उत्पन्न भएपछि उनले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेश गरेका थिए । सरकार गठन भएको चार महिनामै कुवेतमा सरकार ढलेको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।

गत अक्टोबरमा शपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो ।