काठमाडौं, ९ माघ । माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव हस्तान्तरण गरिएको छ ।

यती एअरलाइन्सका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको हो ।

हालसम्म ७० शवको पोस्टमार्टम सकिएको कम्पनीले जनाएको छ ।

फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौंका अनुसार सनाखत भएका चारजनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरणको प्रक्रियामा रहेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले हराइरहेका दुईजनाको खोजी कार्य जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएका मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको यती एअरलाइन्सले जनाएको छ ।

कम्पनीले यसमा आवश्यक समन्वयको काम गरिरहेको जनाएको छ ।