उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौं, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
पदीय मर्यादा विपरीत कार्य गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरी दोषी पाइएपछि उनीमाथि मुद्दा दायर गरेको हो ।
डा. गिरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा नियुक्ति भइसकेपछि प्रोफेसर पद प्रयोग गरेको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले कुनैपनि आधिकारिक निकायबाट सो पदवी प्राप्त नगरेको तर अरूले विश्वास गरोस् भनी बदनियतसाथ प्रोफेसर पद प्रयोग गरेको अख्तियारले जनाएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको मागदाबी गरिएको छ ।
डा. गिरीलाई प्रोफसर पदको अनुमोदनका लागि डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मतियारको भूमिका खेलेको भन्दै उनीमाथि समेत कारबाहीको माग गरिएको छ । उनले काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति नै दिएका थिए ।
प्रतिष्ठानको उपकुलपति नियुक्त भएर कार्यरत डा. गिरीले आफ्नो नामको अगाडि प्राध्यापक प्रयोग गर्दै आएका थिए । उनले आफूले विराटनगरको विराट मेडिकल कलेजको इन्टरनल मेडिसिन डिपार्टमेन्टको प्रमुख र प्राध्यापकको रूपमा काम गरेको बताउँदै आएका थिए ।
उनको प्राध्यापक पद नक्कली भएको भन्दै लामो समय प्रतिष्ठानमा आन्दोलन भएको थियो । आन्दोलनपछि स्वास्थ्य मन्त्रालयले उनको विषयमा अनुसन्धान गरेको थियो । सोही आधारमा उनी प्राध्यापक नरहेको प्रष्ट पारेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


