म्याग्दी, ९ माघ । म्याग्दीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

बेनीबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका–१ कुहुँतर्फ गइरहेको जिप सोमबार बिहान करिब साढे ११ बजे काफलचौरको उकालोमा दुर्घटना हुँदा जिपमा सवार मंगला गाउँपालिका–१ की ६१ वर्षीया फौमाायाँ गर्वुजाको मृत्यु भएको हो ।

गम्भीर घाइते गर्वुजा उपचारका लागि सदरमुकाम बेनी पुर्याउँदा अस्पतालले मृत्यु घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालका अनुसार दुर्घटनामा परी ७ जना घाइते छन् । उनीहरूको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकेर टायरमा ओट राख्न खोज्दा जिप पछाडि गुडेर सडकमुनि खेतमा खसेको थियो ।