एजेन्सी, ९ माघ । सिरियाको दक्षिणी प्रान्तको अलेपोमा रहेको एक आवासीय भवन भत्किँदा त्यसमा रहेका १६ जनाको ज्यान गएको बताइएको छ । त्यहाँको एउटा ७ तले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो । त्यस दुर्घटनामा ५ जना बालबालिका पनि परेका छन् ।

प्रहरीका अनुसार उक्त भवनमा ७ परिवार बसेका र ती परिवारका १६ जनाको ज्यान गएको हो । सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ ।

प्रहरीले मृतकको संख्या अझै बढ्नसक्ने बताएको छ । त्यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।