काठमाडौं, ९ माघ । नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलमलाई पक्राउ गरेको हो ।

आदिलले नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । मेहबुबले भने लिग खेलेका थिएनन् । आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

मेहबुबले भने लामो समयदेखि राष्ट्रिय टोली बाहिर थिए । उनको नाममा एकै खेलमा १० विकेट लिने कीर्तिमान छ । लिगको समयमा उनी भारतमा गएका थिए । त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ ।

स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।