काठमाडौं, ८ माघ । हत्या अभियोगमा मुछिएका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ ।

कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेपछि प्रहरी प्रधान कार्यालयले देशभरका जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर जारी भएको बताए । नेकपा एमालेका सांसद कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका हुन् ।

गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट लिखित र मौखिक निर्देशन आएको राईले बताए ।

सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको बताउँदै राईले उनी छिट्टै समातिने उल्लेख गरे । गृहमन्त्रीले दिएको निर्देशनका बाबजुद कोइरी पक्राउ नभएर चौतर्फी आलोचना हुन थालेपछि ६ माघमा गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।

‘उपप्रधानमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृहले विज्ञप्ति निकालेर भनेको थियो । मधेस आन्दोलनका क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको आरोप सांसद कोइरीमाथि छ ।

२०७२ भदौ २५ गते विकको हत्या भएको थियो । महोत्तरीको जलेश्वरमा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

सांसद कोइरी त्यतिबेला मधेसी जनअधिकार फोरममा आवद्ध थिए । उनी विक हत्याको योजनाकार रहेको आरोप छ । उच्च अदालत जनकपुरले महतोलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो ।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा महतोलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरले त्यो आदेश उल्ट्याउँदै २०७७ मंसिर १९ मा महतोलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

वारेसबाट उम्मेदवारी दिएका महतो चुनाव जितेपछि वारेसबाटै विजयी भएको प्रमाणपत्र बुझेका थिए । उच्च अदालत जनकपुरले जारी गरेको ‘वारेन्ट’ का कारण कोइरी प्रहरीको ‘खोजी सूची’ मा छन् । अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ ।

तर, प्रतिनिधिसभा सदस्यको सपथग्रहण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन संसदमा उपस्थित भएका उनी प्रहरीको ‘नजर’ मा परेनन् ।

सांसद कोइरीको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाएको छ ।घरमा प्रहरीको निगरानी बढेपछि सांसद कोइरी भारततिर लागेको आशंका गरिएको छ ।

–आयोमेल